दफा ५८
धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र दिने
(१) दफा ५७ बमोजिम निवेदन प्राप्त भएमा बोर्डले आवश्यक जाँचबुझ गरी देहायका आधारमा निवेदकलाई तोकिए बमोजिमको ढाँचामा धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र दिन सक्नेछः– (क) उपदफा (२) मा उल्लिखित अवस्थाहरुको आधारमा निवेदकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमका अधीनमा रही धितोपत्र व्यवसाय गर्न सक्छ भन्ने लागेमा, (ख) धितोपत्र व्यवसाय गर्न नियुक्त गरेको प्रतिनिधिले प्राप्त गरेको तालिम र शैक्षिक योग्यता । (२) धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको लागि निवेदन दिने कम्पनी वा संस्थामा कार्यरत कार्यकारी प्रमुख, सञ्चालक, सम्बन्धित अधिकृतहरु तथा प्रतिनिधिका सम्बन्धमा देहायका कुराहरुलाई समेत हेरिनेछः– (क) आर्थिक हैसियत, (ख) शैक्षिक योग्यता, तालिम र सम्बन्धित काममा अनुभव, (ग) धितोपत्र व्यवसाय गर्न चाहिने अनुभव, (घ) सामाजिक हैसियत तथा चरित्र । (३) यस दफामा माथि जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र दलाली तथा लगानी परामर्श सेवा बाहेक अन्य धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र पब्लिक लिमिटेड कम्पनी वा प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्थालाई मात्र दिइनेछ । (४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले पूँजी बजार तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी कुनै धितोपत्र व्यवसायीलाई धितोपत्र व्यवसायको किसिममध्ये कुनै धितोपत्र व्यवसाय गर्न नपाउने गरी अनुमतिपत्र प्रदान गर्न सक्नेछ ।